मर्स्याङ्दीमा खसेको बसका यात्रुको उद्धार सुरु

जनता संवाददाता
२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको छ । बसमा सवार यात्रुहरुको उद्धार कार्य सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० देखि ११ जनासम्मको ज्यान गएको छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस साढे ११ बजेतिर बाटोबाट करिब डेढसय मिटर तल नदीमा खसेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका –२ मा पर्ने ऐनापहरा भन्ने ठाउँबाट पृथ्वी राजमार्गबाट बस नदीमा खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिए ।

“अहिले उद्धार सुरु भएको छ, यति नै यात्रु भन्ने खुलेको छैन, ४० जनाभन्दा बढी रहेको अनुमान छ” उनले भने, “अहिले उद्धार सुरु भइसकेको छ ।”

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते, शुक्रबार


Scroll to Top

Janata Media