काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्।
नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले आज (शनिबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको जानकारी दिए।
उनले यसको परिणाम छिट्टै आउने दाबीसमेत गरे। अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गरे।
उनले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
“हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ। केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु। आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु”, अध्यक्ष दाहालले भने।
पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गरे।
यसैगरी उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताए।
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियासमेत अगाडि बढेको जानकारी दिँदै अध्यक्ष दाहालले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले नुवाकोटलाई पार्टीले सधैँ महत्व दिएको र आगामी दिनमा पनि उस्तै भूमिका दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएका समयमा विभिन्न जनपक्षीय काम भएको उल्लेख गरे।
उनले जनतालाई केन्द्रमा राखेर काम गरिएका कारण नै आफूहरूलाई सरकारबाट हटाइएको जिकिर गरे। कार्यक्रममा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदी, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, राधिका तामाङलगायतको उपस्थित रहेको थियो।