खेर गएका र मूल्य नपर्ने वस्तुबाट शैक्षिक सामग्री निर्माणले फाइदा

जनता संवाददाता
२०८१ फाल्गुन २५ गते, आईतवार

तपेन्द्र ऐडी, मुगु । जिल्लाको सोरु गाउँपालिकाको शिक्षा, स्वास्थ्य र स्थानीय नागरिकहरूको आय आर्जनमा सुधार ल्याउनको लागि सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई खेर गएका सामान र मूल्य नपर्ने वस्तुहरूको विभिन्न शैक्षिक सामाग्री निर्माणमा प्रोत्साहन गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल (युएमएन) मुगु कल्ष्टरको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण सामुदायिक विकास संस्था (जिएसएस)को सहजीकरणमा यस्तो कार्यक्रम गरिएको हो । खेर गएका र मूल्य नपर्ने वस्तुहरू निर्माण सम्बन्धी तालिम शिक्षकहरूलाई दिएपछि त्यसले प्रभावकारी रूप समेत लिएको छ ।

गाउँघरमा मूल्य नपर्ने काठ, ढुङ्ख, माटो, निगालो, खेर गएका कागज, कपडाका टुक्राबाट पाठ्य पुस्तकसँग मिल्ने शैक्षिक सामाग्रीहरू निर्माण गरी विद्यालयमा बालबालिकाहरूलाई शिक्षा दिँदा व्यवहारिक ज्ञान हासिल गर्न सहज भएको शिक्षक रत्नराज चौलागाईले बताए ।

सोरु गाउँपालिकाको शिक्षामा सुधार ल्याउनको लागि पालिकामा रहेका ३९ वटा सामुदायिक विद्यालयमा ई सिडी कक्षादेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकाहरूको व्यवस्थापनको लागि कक्षा कोठाको भुइसिलिङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिर्फम, कार्पेट, सुज र्याक, बुक र्याक, टेबुल, बेन्च, शैक्षिक क्रियाकलापका आधारमा सिकाईका लागि शिक्षकहरूलाई सहज भएको ग्रामीण सामुदायिक विकास संस्था (जिएसएस) मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए ।

सक्रिय शिक्षण सिकाई (एटिएल) तालिम बाट बजार, गाउँघरमा खेर गएका कागज, काठ, ढुङ्गा, सिसा, कपडाका टुक्रा लगायत मूल्य नपर्ने वस्तुहरूबाट विभिन्न ६०–६५ प्रकारका शैक्षिक सामग्रीहरू निर्माण गरी शिक्षण सामाग्रीबाट शिक्षा दिने गरेको शिक्षिका कोपिला सुनारले बताइन् ।

यस्ता किसिमका कार्यक्रमहरू प्रभावकारी बनाउँदा दाताबाट अन्य थप शिक्षामा सहयोग पुग्ने समेत युनाइटेड मिसन टु नेपालका लिडर नेत्र बहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते, आईतवार


Scroll to Top

Janata Media