स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

जनता संवाददाता
२०८१ भाद्र ११ गते, मंगलवार

काठमाडौं । स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ । स्वास्थ्य बीमा बोर्डले चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकाले उपचारको लागि समस्या भएको केन्द्रले जनाएको छ ।

रकम भुक्तानी नपाउँदा आर्थिक अभावले गर्दा औषधी र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको केन्द्रका फार्मेसी अधिकृत मुकुन्दप्रसाद यादवले बताए । पुस सम्मको भुक्तानी दिएपनि माघदेखि साउनसम्म गरी सात महिनाको चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकोले उपचार नै रोक्नु पर्ने स्थिति आउन लागेको उनले बताए ।

औषधी, ल्याबका केमिकल, एक्सरे लगायतका आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम नहुँदा उपचार प्रभावित भएको यादवले बताए । बिमाबाट औषधी मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन हुँदा सेवा नै रोक्नुपर्ने अवस्था आउन लागेको यादवको भनाइ छ । यादवले भने, औषधी तथा स्वास्थ्य सामग्री गरी मासिक ६० लाख बढी खर्च हुन्छ, भुक्तानी रोकिँदा सेवा प्रवाहमा सङ्कट आएको छ ।

९० प्रतिशत भन्दा बढी बिरामी बिमा अन्तर्गतका हुने भएकोले लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसकेको केन्द्रले जनाएको छ । आर्थिक अभावले गर्दा औषधी र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेकोले उधारो नदिँदा सेवामा सङ्कट आएको यादव बताउँछन् । यादले भने, भुक्तानी नपाउँदा सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेका छन् इमरजन्सीमा भर्ना हुन आएका बिरामीको समेत भर्ना गर्न नसकिने अवस्था आएको छ ।

यादवका अनुसार बिमा बोर्डलाई केन्द्रको समस्या र औषधी सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएकोले समस्या परेको छ । औषधी, ल्याब केमिकल, एक्सरे लगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ती भुक्तानी रोकिँदा प्रभावित भएको छ । थाइराईड लगायतको अप्रेसन समेत गर्न नसकिने अवस्थामा पुगेको छ । प्रत्येक फार्मेसीलाई नेपाल सरकारले औषधि खरीदको लागि २० लाख रुपियाँ बिउ पुँजी दिने गरेपनि केन्द्रले रकम नपाउँदा समस्या परेको छ। केन्द्रमा सवारी दुर्घटनाका घाइतेका अलावा विभिन्न रोगका बिरामी नियमित आउने गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने केन्द्रले जनाएको छ । फार्मेसी अधिकृत यादवले चिन्ता व्यक्त गर्दै गोरखापत्र अनलाइनसँग भने, स्वास्थ्य सामग्री र औषधि किन्न नसक्दा पृथ्वीराजमार्गका साथै सहायक राजमार्गमा दुर्घटना भएर घाइतेलेलाई उपचारको लागि ल्याए भने पनि उपचार गर्ने सामग्री नभई फिर्ता गर्नुपर्ने अवस्था आउन लागेको छ । उनीहरुको ज्यानै जान सक्ने जोखिम भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते, मंगलवार


Scroll to Top

Janata Media