इलाममा टी ट्रेल निर्माण गरिने

जनता संवाददाता
२०८१ भाद्र १४ गते, शुक्रबार

काठमाडौं । इलामको सूर्योदय नगरपालिका आन्तरिक पर्यटकको रोजाइमा परेको पर्यटकीय गन्तव्य मानिन्छ । कन्याम अन्तु जस्ता पर्यटकीय स्थल बाह्रै महिना पर्यटकले भरिभराउ हुने गरेका छन् । पर्यटन पूर्वाधारका हिसाबले विभिन्न संरचना निर्माण गरिएको नगरमा अव पैदल यात्रीका लागि पदमार्ग समेत निर्माण हुने भएको छ ।

नगरपालिकाको फिक्कल देखि अन्तु सम्म करिब २० किलोमिटर लामो ‘चियाबारी पदमार्ग’९टी ट्रेल ० निर्माण गरिने भएको छ । स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायको ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गरिने भएको हो ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्नका लागि पदमार्ग निर्माण गर्न लागिएको कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । उनले फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने बताए । उनले भने‘यो पदमार्ग निर्माण गर्नुको उद्देश्य केवल हिँड्नु मात्र होइन, पदमार्ग आसपासको ग्रामीण जनजीवनलाई आयआर्जनमा जोडेर आर्थिक आम्दानी गर्नु पनि हो ।’

२०८१ बैशाख २७ गते स्विस सरकार र नेपाल सरकारबिच भएको सम्झौता अनुसार सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने छ । जस अन्तर्गत कोशी प्रदेशका चार वटा स्थानमा चार सय किलोमिटर पदमार्ग निर्माण गरिने स्विस सरकारका कोशी प्रदेशका कार्य अधिकृत सुशील श्रेष्ठले जानकारी दिए । परियोजना सम्पन्न गर्नका लागि कोशी प्रदेश अन्तर्गत २९ वटा पालिकाहरूले यस परियोजनामा सहभागिता जनाएका छ। स्वीजरल्याण्ड सरकारको ५५ प्रतिशत, सङ्घीय सरकारको ८ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत र स्थानीय सरकारको १८ प्रतिशत साझेदारी रहने छ ।

फिक्कल–अन्तु चियाबारी पदमार्ग सम्पन्न गर्नका लागि स्विस सरकार र तीन तहका सरकारको गरी आर्थिक वर्ष २०८१÷८२ मा २३ लाख रुपियाँ रकम विनियोजन भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए । चियाबारी पदमार्ग निर्माणका लागि पदमार्गको पहिचान गर्ने काम भइरहेको परियोजनाले जानकारी दिएको छ । यहाँ निर्माण गरिने पदमार्ग ढुङ्गा लगायत स्थानीय स्रोत साधन प्रयोग गरी प्रकृतिको विनाश नगरी निर्माण गरिने सचिव घिमिरेले जानकारी दिए ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले दिगो विकासका लक्ष्यलाई पुरा गर्ने गरी चियाबारी पदमार्ग निर्माण गरिने बताए । ‘पदमार्गमा आजै पर्यटकको ओइरो लाग्छ भनने होइन, स्थानीय समुदायको सहभागितामा यहाँको पर्यटन प्रवर्धन सँगै आय स्तरमा वृद्धि हुन्छ भनने हो ।’ उनले प्रकृतिलाई कति पनि नबिगारी प्रकृतिको थप संरक्षण गर्नका लागि पदमार्गले सहयोग पुग्ने बताए ।

हेल्भेटास कार्यक्रमका टुरिजम कोअडिनेटर प्रनिल उपाध्याय नेपालका अनुसार परियोजना अन्तर्गत कोशी प्रदेशका २९ पालिका समेट्ने गरी चार सय किलोमिटर पदमार्ग निर्माण गरिने छ । चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग , लालीगुराँस पदमार्ग र मुन्धुम पदमार्ग रहेका छन् । यी पदमार्ग निर्माण गर्दा देखि सम्पन्न भएर सञ्चालनमा आउन परियोजनाले छोएका क्षेत्रका चार लाख नागरिकले रोजगार पाउने कोअडिनेटर नेपालले जानकारी दिए ।

पदमार्गले छोएका क्षेत्रमा पर्यटन पार्क, फलैँचा, होमस्टे, शौचालय आदि सञ्चालन गरिने छ । पशुपतिनगर सामुदायिक बनका प्रतिनिधि कमल गदालले पदमार्ग आसपासका क्षेत्रमा लोप हुँदै गएका जडिबुटी रोप्नु पर्ने सुझाव दिए । चार वटा पदमार्ग निर्माण गर्दा ११ करोड २५ लाख रुपियाँ खर्च हुने जनाइएको छ । यी पदमार्ग सञ्चालनमा आउँदा थप ८० वटा होमस्टे सञ्चालनमा आउने परियोजनाले जनाएको छ । निर्माण गरिएको पदमार्गमा ८० प्रतिशत स्वदेशी , १५ प्रतिशत भारतीय र पाँच प्रतिशत तेस्रो देशका पर्यटकले पदयात्रा गर्ने सर्वेक्षण समेत सार्वजनिक गरिएको छ ।

चिया पदमार्ग क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिकामा इलाम फिक्कल श्रीअन्तु रहनेछ। फाल्गुनन्द पदमार्ग अन्तर्गत फिदिम लत्रेकुटी, सिलौटी, पौवा भन्ज्याङ, लोहाकिल, विखे छिन्तापु, गुरुवाले, सन्दकपुर, माई पोखरी रहनेछ । लाली गुराँस पदमार्ग क्षेत्र अन्तर्गत तुम्लिङ्गटार, खाँदवारि, नुम गुफा पोखरी, वसन्तपुर जलजले , तिनजुरे, मिल्के रहने छ । मुन्धुम पदमार्ग अन्तर्गत क्षेत्रमा कोशी टापु मैनामैनी, संखमचुली, हतुवागडी, आमचोक, थाम डाँडा, तावाभञ्ज्याङ, टेम्केडाँडा, चखेवा दलसिङ्गे, धोत्रे जलजले, हाँसपोखरी, मैयुङ डाँडा, ह्यकुले रावाधाप, साल्पापोखरी, सिलिचुङ पिक रहने छ । परियोजना अन्तर्गत पदमार्ग निर्माण , स्थानीय उत्पादनको ब्राण्डिङ÷प्याकेजिङ, स्थानीय समुदायको क्षमता विकास र नीति निर्माणका काम गरिने छ ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते, शुक्रबार


Scroll to Top

Janata Media