
भुवनेश्वरस्थित किट युनिभर्सिटीको छात्रावासमा ज्यान गुमाएकी नेपाली छात्रा प्रकृति लम्सालको परिवारले छोरीमाथि मानसिक तनाव दिइएको र यही कारण उनले आत्महत्या गर्नुपरेको बताएका छन्।
छोरीको न्यायका लागि भारत पुगेका प्रकृतिका बुवा सुनिल लम्साल विश्वविद्यालय प्रशासन र प्रहरीसँग न्यायको गुहार गरिरहेका छन्।
‘छोरीमाथि मानसिक यातना र ब्ल्याकमेल गरिएको छ। यही कारण उनले यस्तो निर्णय लिन बाध्य भइन्। विश्वविद्यालय प्रशासन मौन छ।’ उनले भारतीय संचारमाध्यमा भनेका छन् ‘हामीले छोरीलाई उच्च शिक्षा हासिल गराउन भारत पठाएका थियौं, तर यो कस्तो नियति भोग्नुपऱ्यो १ सरकार र प्रहरी प्रशासनप्रति हामीलाई विश्वास छ, उनीहरूले न्याय दिनेछन्।’
उनले अन्य नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित वातावरण दिनुपर्ने बताउँदै भने, ‘हाम्रो छोरी त अब रहिनन्, तर अन्य विद्यार्थीहरू अझै अध्ययन गरिरहेका छन्। भविष्यमा यस्तो घटनाहरू दोहोरिन नदिन विश्वविद्यालयले गम्भीर पहल गर्नुपर्छ।’
पीडित परिवारले नेपाली विद्यार्थीहरूसँग विश्वविद्यालयको व्यवहार गलत रहेको आरोप लगाएका छन्। लम्सालले आक्रोश पोख्दै भने, ‘हामीले नेपाली विद्यार्थीहरूसँग गलत व्यवहार गरिएको मिडियाबाट थाहा पायौँ। विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई अध्ययनका लागि बोलाउँछ, तर यस्तै अपमानजनक व्यवहार गर्छ भने यो सह्य छैन।’
उनले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेको बताउँदै थपे, ‘छोरीको फोन, ल्यापटप र डायरी फरेन्सिक परीक्षणका लागि बुझाइएको छ। प्रहरी प्रशासन र सरकार हामीलाई सहयोग गरिरहेका छन्। तर, हामीले सुनेका छौं कि नेपाली विद्यार्थीहरूलाई छात्रावास खाली गर्न भनिएको छ, जुन सरासर गलत हो। हामी न्याय चाहन्छौँ, अन्याय सहिँदैन।’
घटनापछि विश्वविद्यालयभित्र तनाव सिर्जना भएको छ। विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारभित्र छात्रावास खाली गर्न निर्देशन दिएको छ।
साथै, ‘नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द’ भन्ने सूचना जारी गरेको दाबी गरिएको छ।
तर, विश्वविद्यालय प्रशासनले हालसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।