तिज र तिज गीतको सान्दर्भिकता बारे बहस

जनता संवाददाता
२०८१ भाद्र १७ गते, सोमबार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य र पद्य) विभागले सोमबार ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गरे । उनले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सातरआठ हजार वर्षदेखि तिज मनाउँदै आएको बताए ।

उनले भने, ‘‘पितृसत्ताविरुद्ध महिलाहरू तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन् । यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्दछ । सांस्कृतिक पर्व तिजको मौलिकता अहिले दलाल पुँजीवादको प्रभावमा फसेकोले चिन्ता लागेको छ ।’’

यस्तै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले महिलाहरूको महान् पर्व तिजले नारीबिच एकाआपसमा भेला भई सुख दुःख ,अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व तिज भएको बताए । उनले तिजका नाममा देखा परेका अशोभनीय तडकभडक प्रति सबै सजग रहनुपर्ने सुझाव पनि दिए ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (काव्य र पद्य) विभाग प्रमुख बाबा बस्नेतले तिज पुरातन संस्कृति र परम्परामा आधारित भए पनि समयसापेक्ष नवीन शैली देखापरेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तिज पर्व व्यापक भइसकेकोले यसको मौलिकता र सांस्कृतिक मूल्यलाई संरक्षण गर्नु नेपालीको दायित्व भएको बताए ।

कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा मैनानीले ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले तिज र तिज गीतको परिचय, स्वरूप, समावेशीकरण, समाजशास्त्रीय दृष्टिकोण र तिजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रित गरेका थिए ।

उनले अवधारणापत्र प्रस्तुत गर्दै महिलाको भाषिक आवाज आफ्नै भाषामा बुलन्द बनाउने विषयहरू तिज गीतमा समावेश हुनुपर्ने उल्लेख गरे । ‘‘तिज गीत जीवनको वास्तविक अर्थ खोज्ने र महिला स्वतन्त्रता, विकास र समृद्धिका लागि चेतना छरी, महिला र पुरुषको समान सत्ता निर्माण गर्न सक्ने हुनुपर्छ । जसले महिलालाई हेर्ने हेपाहा दृष्टिकोण र घृणित सामाजिक अपराधले भरिएको कठघराबाट बाहिरी स्वतन्त्र दुनियाँमा ल्याउन सक्नुपर्छ ।’’

उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा।डा। ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तिज पर्वलाई अब महिलाले मौलिक संस्कृति प्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताए थिए ।

अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तिज पर्वलाई राम्रोसँग बुझ्न शिव महापुराणको अध्ययन गर्नुपर्ने र तिजका नाममा देखापरेका विकृत पक्ष चिन्ताको विषय भएको बताए । कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ, प्रभा बराल, देवकी तिमल्सिना र तारा बरालले आआफ्नो जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार


Scroll to Top

Janata Media