देशको अवस्था परिवर्तन हुँदा जनताको अवस्था उस्तै भयो : सिके राउत

जनता संवाददाता
२०८१ भाद्र ३० गते, आईतवार

नेपालगन्ज । जनमत पार्टीका अध्यक्ष सिके रावतले देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन् ।

बर्दियाको गुलरियामा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले देश र जनता दुवैको अवस्था परिवर्तन गर्न सबै पार्टी र नेताहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

उहाँले देश र जनतामा सुधार ल्याउने जिम्मेवारी अब युवाको काँधमा आएको जनाउँदै त्यसका लागि तयार रहन युवालाई आग्रह गरे ।

कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति, पूर्व खानेपानी मन्त्री एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आए पनि जनताको अवस्थामा सुधार नआएकोले जनतामा अन्योल उत्पन्न भएको दाबी गरे ।

कार्यक्रममा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष इन्जिनियर दीपक शाह, राष्ट्रिय परिषद् अध्यक्ष जयकान्त राउत, जनमतका राष्ट्रिय सचिव राधा यादव लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जनमत पार्टीका बर्दिया प्रवक्ता रामदुलारे सोनकरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार


Scroll to Top

Janata Media