नदीले बगाउँदा बालक बेपत्ता

जनता संवाददाता
२०८१ आश्विन ५ गते, शनिबार

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरबाङमा खोलाले बगाउँदा एक बालक बेपत्ता हुनुभएको छ । शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारेस्थित झोलुङ्गे पुलनजिक किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१, निस्कोट घर भई हाल दरबाङमा बस्दै आएका सागर पटेलका छोरा ८ वर्षीय सलमान पटेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार, शुक्रबार साँझ करिब सवा ५ बजेको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटेको प्रहरी टोली र स्थानीयवासीले खोजी सुरु गरेका छन् ।

बेपत्ता सलमान फेला परेको छैन । अभिभावकमार्फत बेपत्ता सलमानको कपडा र चप्पलबाट पहिचान भएको हो । बेपत्ता सलमानको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन ५ गते, शनिबार


Scroll to Top

Janata Media