
काठमाडौं । नेपाली समुदायको पहिचानको रुपमा रहेको भाषा कला र संस्कृति संरक्षण गर्नुपर्ने सुझाव वक्ताहरुले दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनामा भएको शुभकामना कार्यक्रमका सहभागीले यस्तो सुझाव दिएका हुन् ।
आपसी समझदारी तथा सद्भाव कायम राख्न वडादसै मनाएमा सामाजिक एकता कायम हुने भएकाले संरक्षण गर्नका लागि निरन्तर लाग्नुपर्ने सुझाव दिएका छन् । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए ।
कार्कीले नेपालीको महान पर्व, धार्मिक तथा सामाजिक एकतामा विविधता भएको संस्कृतिलाई संरक्षण गर्दै जिवन्त बनाउनमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसको नेतृत्व प्रतिष्ठानले गर्दै अगाडि बढ्नुपर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष कमल भट्टराइले धार्मिक तथा सास्कृतिक विविधतालाई जोगाउन सदैव सकारात्मक रहेको बताए । उनले संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने भन्दै स्थानीय सरकार र उद्योगी व्यवसायीहरुले पनि साथ दिनुपर्ने बताए ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले संस्कृति नेपालीको पहिचान भएकाले सबै मिलेर संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि दोहोरी प्रतिष्ठानले कलाकारलाई स्थापित गराउने कार्यक्रम ल्याउनुपर्ने बताए ।