खोकनामा मनाइँदै सिकाली जात्रा

जनता संवाददाता
२०८१ आश्विन २४ गते, बिहीबार

काठमाडौं । दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रूपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिव्रmमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् ।

“हरेक दिन खोलामा नुहाएर आएर उखुको लौरो टेक्दै गाउँ परिव्रmमा गरेर पूजा सकाउनु पर्छ, त्यस समयमा उनीहरू राति थकालीको घरमा सुत्छन्”, उनले भने, “उनीहरूले छालाको समान तथा पहिरन प्रयोग गर्दैनन्, लसुन प्याजसमेत खाँदैनन्, रुद्रायणी मन्दिरको मूल पुजारीलाई थकाली भन्छन्, त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन छ ।”

यसरी घटस्थापनाको दिनदेखि दुई दिनसम्म सङ्कलन गरेको पूजा सामग्रीले आश्विन शुक्ल तृतीयाका दिन पूजा गरिसकेपछि रुद्रायणी विद्यालयनजिकै चौरमा रहेको सिकालीको मूर्तिमा राँगाको आलो रगत चढाइन्छ । यसका लागि खोकनामा रहेका तीन वटा जात्रा चलाउने तीन वटा गुठीले एक÷एक वटा राँगो दिन्छन् । यसरी दिएका राँगाको बलि दिई आलो रगत सिकाली मन्दिरमा चढाउन लगिन्छ । शुक्ल तृतीयाका दिन गरिने नित्य पूजा कसैले पनि हेर्न नमिल्ने बताउँछन् श्रेष्ठ । “पूजा अवधिमा चराचुरुङ्गी वा मानिस केहीले देख्यो भने असफल हुन्छ भन्ने किंवदन्ती छ । त्यसैले हेर्न दिँदैनन्,” उनले भने ।

यो ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनामा मनाइने सबैभन्दा ठुलो जात्रा हो । स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा आज बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएको विश्वास गरिन्छ ।

महानगर वडा नं। २१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार बुधबार रुद्रायणी स्कुलअघि राँगाको बलि दिएर कुमार केटाहरूले सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजा सामग्री लिएर गएका हुन् । बिहीबार सामूहिक भोजसँगै जात्रा सम्पन्न हुन्छ ।

प्रकाशित मिति : २०८१ आश्विन २४ गते, बिहीबार


Scroll to Top

Janata Media