ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई पक्राउ

जनता संवाददाता
२०८० भाद्र २६ गते, मंगलवार

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई पक्राउ परेका छन्।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष राईलाई सहकारीमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले आजै जिल्ला अदालत कास्कीबाट राईविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएसँगै राईलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो।

उक्त सहकारीका पदाधिकारीविरुद्ध कास्की प्रहरीमा ९७१ जना निक्षेपकर्ताहरुले उजूरी दिएका थिए। आफूहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै उनीहरुले प्रहरीमा उजूरी दिएका थिए।

राईसँगै सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते, मंगलवार


Scroll to Top

Janata Media