छठ पर्वमा बाँसका सामग्रीको महत्व

जनता संवाददाता
२०८१ कार्तिक ५ गते, सोमबार

काठमाडौं । छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरु बाँसका समाग्री बनाउनमा व्यस्त छन् । बाँसका सामग्रीहरू सुपा, डाली, सिज, र दौरा छठको पूजा र अर्घ दिने परम्परामा अत्यन्तै महत्वपूर्ण हुन्छन् ।

डोम समुदायका मानिसहरू वर्षभरि बाँसका विभिन्न सामग्रीहरू बनाउँछन्, तर छठ पर्वको समयमा यी सामग्रीहरूको माग धेरै बढ्ने गर्दा उनीहरु अहिले सम्पूर्ण परिवार सामग्री बनाउनमा लागेका छन् । विशेषगरी छठ पर्वको समयमा उनीहरूको व्यवसायमा वृद्धि हुन्छ, जसले गर्दा उनीहरू रातदिन यी सामग्रीहरू बनाउँदै विक्रि गर्ने कार्यमा लागि पर्छन् ।

बाँसबाट बनेको नाङलो, डालो जस्ता सामग्रीहरूको छठको विशेष पूजा विधिमा महत्वपूर्ण भूमिका हुने भएकाले, यी सामग्रीहरू बिना छठको पूजा अधुरो मानिन्छ ।यस्तै जनकपुरधाम उपमहानगरपालिका ७ की लिलम मल्लिकका पाँच जना परिवारका पाँचै जना सदस्य यतिबेला बाँसका सामग्री बनाउनमा व्यस्त छन् । उनीहरु कोहीले बाँस काट्ने, कोहीले छिल्ने र कोहीले बनाउने काम गर्दैछन् ।

लिलम भन्छन्,“पहिले हाम्रो समुदाय यसै पेसामा निर्भर हुन्थ्यो, अहिले माग घटेका कारण विशेषगरी छठका बेला मात्र सामग्री तयार पारिन्छ । पहिला बाबा, दादाहरुले आफै बनाउने र बेच्ने गर्थे । तर, अहिले हामीले बनाउने मात्र गर्छौ, बेच्ने समयलाई सदुपयोग गर्दै, सामग्री बनाउनमा लगाउछौं।” आजकाल कतिपय ब्रतालुहरुले पिटलका सामग्री प्रयोग गर्न थालेपछि बाँसका समाग्रीको प्रयोग घट्दै गएका कारण माग पनि घटेको उनको बुझाइ छ ।

एक सिजनमा बाँसबाट बनेका सामग्रीबाट ७-८ हजार रुपियाँ कमाई हुने लिलमको भनाइ छ । पहिला सहजै र कम मुल्यमा बाँस खरिद गर्न पाइन्थ्यो तर, अहिले बाँस पनि बाहिरबाट आउछ, र महंगो पनि छ, यसरी बाँस उत्पादन र प्रयोग कमी आउँदा हाम्रो परम्परागत पेशामा लुप्त हुने डर पनि बढेको उनी बताउँछन् ।

सातादिन अघिदेखिनै जनकपुरधामको पेठिया बजारमा छठका लागि बाँसका सामग्री लामलस्कर राखेर बेच्न थालिएको छ । जहाँ जिल्लाबाट मात्र नभएर जिल्ला बाहीरबाट पनि बाँसका सामग्री मगाउने गरिन्छ ।

डोम समुदायका लागि यो पर्व उनीहरूको आर्थिक उपार्जनको ठूलो स्रोत पनि हो, किनकि बाँसका सामग्रीहरूको माग छठका बेला अत्यधिक हुन्छ । यसले उनीहरूलाई आर्थिक लाभ दिलाउनुका साथै उनीहरूको परम्परागत कौशललाई जगेर्ना गर्न सहयोग गर्छ ।

डोम समुदायको सिपलाई सांस्कृतिक सम्पदाको रूपमा मात्र नभएर आर्थिक अवसरका रूपमा पनि हेर्नु पर्छ । यसका लागि सरकारी नीतिहरू र कार्यक्रमहरूमा उनीहरूको सहभागिता र समर्थन आवश्यक छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते, सोमबार


Scroll to Top

Janata Media