काठमाडौँ । नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको छ । योसँगै रुबेला निवारण गर्ने विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले नेपालले हासिल गरेको उल्लेखनीय उपलब्धि भन्दै खोपबाट बचाउन सकिने रोगविरुद्ध दिइने ‘खोप सेवामा गरेको निरन्तर एवं दृढ प्रयासको नतिजा’ प्राप्त गरेको भनेको छ ।
स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा। अभियान गौतमले विश्व स्वास्थ्य सङ्गठनका सम्पूर्ण चरण पूरा गरेर नेपालले रुबेला निवारण गर्न सफल भएको जानकारी दिर्ए । डा. गौतमले एकले अर्कोलाई रोग सार्न रोकेको अवस्थामा निवारणको चरणमा हुने जानकारी दिँदै विश्व स्वास्थ्य सङ्गठनले नेपालमा आएर मात्र निवारण घोषणा गरेको बताए ।
“रुबेला रोग निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले पर्सा र पर्वत जिल्लालाई छानेको थियो । पाँच वटा पिल्लरलाई समातेर निवारण भएको घोषणा गरिएको हो,” डा. गौतमले भने, “रुबेला रोग कति छ, प्रयोगशाला कत्तिको राम्रो छ, सर्भिलेन्स, खोपको उच्च कभरेजका हिसाबले निवारण घोषणा गरेको हो ।” दादुरा जस्तै देखिने रुबेला अति सङ्क्रामक रोग हो ।
रुबेलाले गर्भवती महिलामा जटिलता निम्त्याउनुका साथै गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्नेलगायतका समस्या देखा पर्छ ।
विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम भएको बताए । यस उपलब्धिले शिशुका लागि स्वस्थ जीवनको सुरुवात र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उनको भनाइ छ ।
दक्षिण पूर्व एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रुबेला निवारण भएको हो ।
क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ देखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेस गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्याङ्क तथा विवरणको समीक्षा तथा मूल्याङ्कन गरी नेपालमा रुबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण भएको बताए ।
उनले स्वास्थ्य प्रणालीको एक बलियो आधारस्तम्भका रूपमा रहँदै आएको जानकारी दिँदै नेपालको खोप कार्यक्रमलगायत समग्र स्वास्थ्य क्षेत्रमा ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) र विश्व स्वास्थ्य सङ्गठनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रति कृतज्ञता व्यक्त गरे् ।







