करेन्ट लागेर एक सैन्य अधिकारीको मृत्यु, एक घाइते

जनता संवाददाता
२०८१ कार्तिक २२ गते, बिहीबार

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

करेन्ट लागेर डँडेलधुरा अमरगढी नगरपालिका-२ घर भएका नेपाली सेनाका २९ वर्षीय विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन्।

घाइते दुबै जनालाई उपचारको लागि तत्काल हेलिकप्टरद्वारा आर्मी अस्पताल छाउनी काठमाडौं पठाएकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

घटनास्थलमा प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वमा भएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात दियालको शवलाई पोष्टपार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको उनले जानकारी दिए ।

सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेको बताइएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते, बिहीबार


Scroll to Top

Janata Media