काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बयानका लागि विशेष अदालत पुगेका छन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उनी आज अदालतमा आफैँ हाजिर भएका हुन् ।
नेपालले बुधवार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उनको बयान सुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको हो ।
विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।
गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी भएको छ ।
विशेष अदालतले उहाँको बयान लिएपछि थुनछेक बहससमेत आजै तोकेको छ ।







