काठमाडौं । केही विदेशीसहित नेपाली कलाकार अहिले पोखरामा कलाका विभिन्न कार्यक्रममा व्यस्त छन् । ‘रङहरूको ध्वनि’ नाम दिइएको अन्तराष्ट्रिय कला कार्यक्रम बिहीबारबाट जारी छ । शनिबार कलाकारले कास्कीको सुन्दर गाउँ धम्पुसमा कला कार्यशाला गरेका छन् ।
माछापुच्छे गाउँपालिकामा पर्ने सुन्दर गाउँ धम्पुस पुगेका कलाकारले गाउँको प्रकृति, जनजीवन, त्यहाँबाट देखिने हिमालसहित विविध विषयलाई कलामा उतारेका छन् ।
कला कार्यशाला सकेपछि कलाकार टोली पोथना हुँदै देउरालीसम्म पदयात्रामा गएको र आइतबार कलाकार पोखरा फर्र्किएपछि समापन कार्यक्रम हुने आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीकी सञ्चालक हेमकान्ती गुरुङ बताउँछन् ।
बुद्धिज एटलियरसँग मिलेर ग्यालरीले आयोजना गरेको कार्यक्रम अन्तर्गत बिहीबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी र कला शिविर भएको थियो ।
शुक्रबार इन्टरनेसनल वाटर कलर सोसाइटी अध्यक्ष आटनुर डोगनले विद्यार्थीलाई पानी रङमा पोट्रेट बनाउने कला सिकाएका थिए । शुक्रबारै कलाकार पोखराको वेगनास ताल, माझीकुनासहित गन्धर्व बस्ती हेर्न पुगेका थिए । पहिलो दिन बाल कलाकार र अरू कलाकारका छुट्टाछुट्टै प्रदर्शनीसमेत भएका छन् ।
पर्यटन राजधानी पोखराको पानी रङको सहरको पहिचान थप स्थापित गर्दै कला क्षेत्रको विकास गर्ने हेतुले कार्यक्रम भएको हो । कार्यक्रममा नेपालसहित १९ देशका १५० कलाकार सहभागी छन् । टर्की, भियतनाम, भारत, फ्रान्स, पोल्यान्डलगायतका देशबाट कलाकार कार्यक्रममा सहभागी छन् ।
कार्यक्रम संयोजक हेमकान्ति गुरुङ नेपालको प्रकृतिमा रहेका अनेक रङ र मनमोहक प्रकृति कलाकारलाई देखाउँदै सिर्जनामा उतार्न उत्प्रेरित गरिएको बताउँछन् । “रङहरूको ध्वनि भनेर हामीले यही प्रकृतिको विविधतालाई सङ्केत गर्न खोजेका हौँ ।
मलाई लाग्छ हामी यसमा सफल भएका छौँ,” उनी भन्छन् । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कला क्षेत्रको पनि पुरानो विधा चित्रकलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्व जगत्मा चिनाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा सुनाए ।
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते, आईतवार