भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्सबाट खेल्ने, प्रति खेल ३० हजार डलर

जनता संवाददाता
२०८१ कार्तिक ३० गते, शुक्रबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली बिहीबार भारतीय राष्ट्रिय टोलीबाट तीनै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । अनुबन्धसम्बन्धी सम्झौतामा कर्णालीका मालिक झनक दत्त खनाल र धवनले हस्ताक्षर गरेका छन् । कम्तिमा ४ ओटा खेल खेल्ने सम्झौता गएिकोमा प्ति खेल धवनलाई ३० हजार अमेरिकी डलर भूक्तान गर्नुपर्ने बताइएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह मालिक गृहेन्द्र घिमिरेको उपस्थिति रहेको थियो ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंंग्सबाट खेलिसकेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए । उनले भारतलाई एसिसी एसिया कपको उपाधि पनि जिताएका छन् ।

धवनलाई टोलीमा अनुबन्ध गरेपछि मालिक खनालले नेपाली क्रिकेटकै लागि ठुलो उपलब्धि रहेको बताए । धवनले एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छनु । ‘‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’’ धवनले भने ।

धवनले भारतको लागि ३२ टेस्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । उनले एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । यस्तै ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् । भारतका लागि कार्यवाहक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवर्द्धनको लागि सुखद् सन्देश रहेको बताए ।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले धवनलाई चौथो विदेशी खेलाडीको रूपमा टोलीमा अनुबन्ध गरेको हो । यसअघि कर्णालीले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते, शुक्रबार


Scroll to Top

Janata Media