पोखरा ७४ रनमा अल आउट, चितवनको लगातार दोस्रो जित

जनता संवाददाता
२०८१ मंसिर १८ गते, मंगलवार

काठमाडौं , सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो ।

मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो ।

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । नारायण १३औं ओभरको पाँचौ बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनका लागि साेहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बाेहाेराले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । १६औ ओभरको अन्मि बलमा रेमन रेइफरको बलमा आउट भए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । कुशल सागर ढकालको बलमा आउट भए ।

ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । उनी बास डि लिडेको बलमा कप्तान कुशल भुर्तेलद्वारा क्याच आउट भए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे ।

पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो ।

लगातार दोस्रो जित हासिल गरेको चितवनको ४ अंक भएको छ । पहिलो खेलमै लज्जास्पद हार बेहोरेको पोखराले कुनै अंक जोड्न सकेन । बुधवार लिगको पाँचौ दिन २ खेल हुदैछ । पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते, मंगलवार


Scroll to Top

Janata Media