मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो

जनता संवाददाता
२०८१ मंसिर २१ गते, शुक्रबार

काठमाडौँ, मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् । मलेसियामा राजदूत नियुक्त नहुँदा मलेसियाका सेवा क्षेत्रबाट नेपालीका लागि आएका माग गुमाउनु परेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका हुन् ।

आन्तरिक समस्या देखाउँदै केही समयका लागि आप्रवासी श्रमिक लिन बन्द गरेको मलेसिया सरकारले गएको असोजदेखि उत्पादन क्षेत्रबाहेक अन्य क्षेत्रमा आंशिक श्रमिकको माग गर्न थालेको जनाइएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले आंशिक रूपमा कृषि, प्लान्टेसन, मार्ट तथा सुरक्षा गार्डलगायत क्षेत्रमा आप्रवासी श्रमिकको माग आएको तर प्रमाणीकरण नहुँदा पठाउन नसकिएको जानकारी दिए। राजदूत नभएकाले मागपत्र प्रमाणीकरणका लागि राजदूत नै चाहिने भनेर लगभग तीन लाख माग रोकिएको उनको भनाइ छ ।

उहाँका अनुसार श्रमिक पठाउन नेपालसँग प्रतिस्पर्धी बङ्गलादेश, फिलिपिन्सलगायतका देशले खुला भएका क्षेत्रमा श्रमिक पठाउन थाले पनि नेपालले अवसर सदुपयोग गर्न सकेका छैन । डेढ वर्षअगाडिसम्म मलेसिया नेपालीको प्रमुख गन्तव्य थियो । अहिले ठप्प भएको छ ।

मलेसियाले आंशिक रूपमा केही क्षेत्रमा मात्रै आप्रवासी श्रमिक लैजान थाले पनि पूर्ण रूपमा भने खुलाएको छैन । यसअघि यही डिसेम्बरसम्म सबै क्षेत्रमा आप्रवासी लैजाने अनौपचारिक कुरा सार्वजनिक भएको थियो ।

वैदेशिक रोजगार विभागले पनि मलेसिया कहिलेदेखि पूर्ण रूपमा खुला हुन्छ भन्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले मलेसियामा आंशिक खुलाएको कुरा आए पनि पूर्ण कहिले खुल्छ भन्ने कुनै जानकारी नभएको बताए ।

मध्यपूर्वका मुलुक (खाडी) को तुलनामा मलेसियामा श्रमिकको पारिश्रमिक र अन्य सेवा सुविधा पनि राम्रो भएकाले धेरै युवाको रोजाइमा पर्ने मलेसिया पर्छ । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरिसकेको छ । १ फेब्रुअरी २०२५ देखि लागु हुने गरी पारिश्रमिक बढाएर एक हजार सात सय रिङ्गिट पु¥याएको छ । हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक पाँच सय रिङ्गिट छ । मलेसियाले पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने १ अगस्ट २०२५ देखि नयाँ पारिश्रमिक लागु हुने छ ।

औद्योगिक तथा उत्पादन प्राविधिकको न्यूनतम तलब भने यसअघि नै दुई हजार २९० रिङ्गिट छ । मेकानिकल इन्जिनियरको तलब तीन हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको दुई हजार ९८५ रिङ्गिट तलब छ ।

मलेसियाले तलब बढाउने निर्णय गरेपछि धेरै जसो नेपाली श्रमिक कहिले मलेसिया खुला होला र जाने भनेर पर्खाइमा छन् । कतिपय कतार, साउदीलगायतका मुलुकबाट फर्केरसमेत मलेसिया जाने तयारीमा छन् ।

विभागको तथ्याक अनुसार आर्थिक वर्ष २०८०र८१ मा एक लाख तीन हजार नेपालीले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । आव २०७९र८० मा दुई लाख ५९ हजार नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए । उक्त वर्ष मलेसियाका लागि नै सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार हाल मलेसियामा चार लाखभन्दा धेरै नेपाली रहेको अनुमान छ । नेपाल र मलेसियाबिच २०७५ सालमा मलेसिया जाने श्रमिकले कुनै पनि शुल्क तिर्नु नपर्ने गरी श्रम सम्झौता भएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर २१ गते, शुक्रबार


Scroll to Top

Janata Media