नेता महरलाई जेसीजको मानार्थ सदस्यता

जनता संवाददाता
२०८१ पुष ६ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१ औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।

राजनीतिलगायत विभिन्न माध्यमबाट राष्ट्रको उन्नयनमा योगदान गर्ने हालसम्म ६ जनालाई जेसीजले मानार्थ सदस्यता प्रदान गरेकोमा सातौं व्यक्तिका रूपमा महरले उक्त सम्मान पाएका हुन् ।

जेसीज गैर नाफामुखी र गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो । विश्वका १२२ देशमा सदस्य रहेको जेसीजले युवालाई सक्रिय नागरिक बन्न, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रोत्साहित गर्दछ। नेपालमा पनि युवा नेतृत्व, व्यक्तित्व एवं उद्यमशीलता विकासमा केन्द्रित भई १७८ शाखामार्फत जेसीजले काम गर्दैआएको छ।

महरले यही उद्देश्यअनुरूप काम गरेकाले जेसीजले मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ। महरले लामा समयदेखि निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्यका लागि आवाज उठाउँदै आएका छन् ।

यसका साथै उनले नैतिक राजनीतिका बारेमा पनि पैरवी गर्दै आएका छन्  । कांग्रेसभित्र संगठन निर्माणमा अब्बल व्यक्तिका रूपमा परिचित रएका नेता महर राजनीतिमा इमानदार, कर्तव्यनिष्ठ, प्रस्ट वक्ता, अध्ययनशील, विकास प्रेमी र जनप्रेमी नेताका रुपमा चिनिन्छन् । महरलाई आसन्न १५ औं महाधिवेशनमा महामन्त्रीको दाबेदार पनि मानिएको छ।

विद्यार्थी राजनीतिबाट उदाएका महर २०४७ सालमा १६ वर्षकै उमेरमा डडेलधुराको असीग्राम माविको नेविसंघ इकाई अध्यक्षमा निर्वाचित भएका थिए । त्यस यता उनि सक्रिय राजनीतिमा छन् । २१ वर्षको उमेरमा २०५२ सालमा महर नेविसंघ डडेलधुराको कार्यबहाक जिल्ला अध्यक्ष भएका थिए । उनि २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए। २०५४ सालमा महरले पार्टीको डडेलधुरा प्रचार–प्रसार विभाग उप–प्रमुखको रूपमा काम गरे ।

२०५७ सालमा चितवन महाधिवेशनबाट निर्वाच जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महर निर्वाचित उपाध्यक्ष भए । २०७३ सालमा निर्वाचित अध्यक्ष भएका उहाँले नेविसंघको राजनीतिक इतिहासमा कहिल्यै चुनावमा पराजय भोग्नु परेको छैन । १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित महरलाई पार्टीले शिक्षा विभाग प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको छ।

जेसीजले आफूलाई विश्वास गरेर मानार्थ सदस्यता प्रदान गरेकोप्रति महरले खुसी व्यक्त गरेका छन् । जेसिजले प्रदान गरेको विश्वासलाई कायम राख्ने नेता महरले विश्वास दिलाए ।

प्रकाशित मिति : २०८१ पुष ६ गते, शनिबार