काठमाडौं । विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बाराको सदरमुकाम कलैया आसपासका ठाउँमा बिहानको तापक्रम न्यून रहँदै आएकाले आम नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।
बिहानको तापक्रम अन्य दिनको तुलनामा एकदम कम रहने गरेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । घाम नलाग्ने तथा पश्चिमी वायुको प्रभावसँगै हावा चल्ने गरेकाले बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको सो कार्यालयका मौसम अवलोकनकर्ता प्रतिष्ठा अधिकारीले बताए ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्ने सर्वसाधारणलाई समस्या भएको छ । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ, विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको कामगर्ने मजदुरलाई गाह्रो भइरहेको छ ।
चिसोलाई छल्न चोकचोकमा सर्वसाधारणले आगो बालेका छन् । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । चिसोले मुसहर, ढांगर, चमार, दुसाद्ध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ ।
शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपंक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्यांग्रिएर बर्सेनि गरीब, विपन्न, सिमान्तकृत समुदायका मानिसहरु बढी प्रभावित हुने गरेको छ ।
पछिल्लो एक साता यता तराईमा घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेका छन् । बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ, विशेष गरी कोल्ड डायरिया, दम र खोकीको बिरामी बढी देखिएको प्रादेशिक अस्पताल कलैयाका मेडिकल रेर्कडर निरज साहले बताए।
चिसो आउनु अगाडी नै हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समितिको बैठक भइ सकेको छ । मौसम परिवर्तनसँगै शीतलहर, जाडो लगायतबाट हुने अवस्था एवम् विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे छलफल भइ सकेको निमित्त प्रमुख जिल्ला अधिकारी एव्ं सहायक जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
बैठकले प्रभावित क्षेत्र, गाउँ, टोलको गरीब तथा विपन्न परिवारहरुको पहिचान गर्ने, राहत तथा उद्दारको लागि आवश्यक पर्ने, दाउरा, न्यानो कपडा कम्बल लगायतका आवश्यक सामाग्रीको भण्डारण गर्ने लगायतका बिषयमा १६ वटै स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिइएको छ । साथै डिभिजन वन कार्यालयले स्थानीय तहको आवश्यकता अनुसार दाउराको व्यवस्था गर्नेछ, उनले भने ।
शितलहर तथा चिसोजन्य विपद् र दैवी प्रकोपबाट प्रभावित हुन सक्ने संकटापन्न परिवारका लागि यस आर्थिक वर्षका जिल्ला विपद व्यवस्थापन समितिसँग २५ लाख बजेट रहेको छ । अस्ति सिमलतारमा भएको दुर्घट्नामा बाराका छ जना ब्यक्ति परेकाले उनीहरुको अभिवाकलाई २(२ लाखको दरले राहत वितरण गरिएको उनले बताए ।
कुहिरोले गर्दा सवारी दुर्घटना हुने सम्भावना रहेकाले ५० मिटरभन्दा बढी सडक देख्न नसकिने अवस्था सिर्जना भएको छ, विपरित दिशाबाट आउने सवारीसाधान र पैदलयात्रु तथा सवारी दुर्घटनाको जोखिमबाट बचाउँन ठाउँठाउँमा ट्राफिक प्रहरीले निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराले जनाएको छ ।
कुहिरोका बेला सवारी साधनको गतिलाई सक्दो कम स्पिडमा सवारी चलाउन चालकलाई जानकारी गराउने गरेको सो कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक अशोक बस्नेतले जानकारी दिए ।







