कर्णाली विकास बैंकद्वारा निक्षेप फिर्ता गर्न सुरु

जनता संवाददाता
२०८१ पुष १८ गते, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार सो क्रममा बुधबार बैंकले करिब दुई करोड रुपियाँ निक्षेप फिर्ता गरिसकेको छ।

बैंकका १९ शाखामध्ये १६ वटा शाखामार्फत प्रति व्यक्ति बढीमा २५ हजार रुपियाँका दरले एउटा शाखामा ५० जनाको रकम फिर्ता गरिएको संयोजक खतिवडाले बताए ।

उनले सबै शाखामा गरी एकै दिन आठ सय जना भन्दा बढीले निक्षेप फिर्ता पाएको जनाउँदै बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता हुने बताए । निक्षेप फिर्ता पाउने शाखामध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन्।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपियाँका दरले एउटा शाखाको ५० जनालाई निक्षेप भुक्तानी गर्ने जनाएको थियो। सोही आधारमा कागजात ल्याएकाहरुको निक्षेप फिर्ता गरिएको जनाईएको छ।

संस्थामा तरलता व्यवस्थापन हुँदै जाने आधारमा निक्षेप भुुक्तानी कार्य क्रमशः वृद्धि गर्दै लगिने पनि व्यवस्थापन समूहले प्रकाशित गरेको सूचनामा जनाइएको छ।

नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली विकास बैंकका शाखामा दिनहुुँ निक्षेपकर्ताको भीड लागिरहेको छ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ। एक साता भित्र छानबिन सकेर सही तथ्यांक बाहिर ल्याइने बताइएको छ।

प्रकाशित मिति : २०८१ पुष १८ गते, बिहीबार


Scroll to Top

Janata Media