कागेश्वरी मनोहरा नगरपालिकाको ११ औँ अधिवेशन सम्पन्न

जनता संवाददाता
२०८१ पुष २५ गते, बिहीबार

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका नगर सभाको एघारौँ अधिवेशनमा १० वटा ऐन लागि पेस भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा बुधवार बसेको सभामा नगर १० वटा ऐन, कार्यविधि तथा समितिको प्रतिवेदनहरू पेस भएका हुन् ।

सभामा विज्ञापन ऐन २०८१, विनियोजन ऐन २०८१ को संशोधन, आर्थिक ऐन २०८१ को संशोधन, पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०८१, बस्ती विकास तथा भवन शाखाको लागि पारित गर्ने प्रस्ताव, शिक्षा, युवा तथा खेलकुद विकास शाखाको पारित गर्ने प्रस्ताव, बहाल कर व्यवस्थापन कार्यविधि कार्यविधि २०८१, खानेपानी तथा सरसफाइ कार्यविधि २०८१, कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८१ र दलित सशक्तीकरण ऐन गरेर १० वटा ऐन नियम, कार्यविधि संशोधन पेस भएका हुन् ।

पेस भएका ऐन नियम, कार्यविधि संशोधन सहित पास गर्नका लागि लिखित सुझाव माग गरिएको छ । प्राप्त सुझावलाई समेटेर एक हप्ताभित्र पारित गर्ने सभाले निर्णय गरेको छ ।

सभामा लेखा समितिको प्रतिवेदन समितिका सभापति तथा वडा नम्बर ३ का अध्यक्ष राममणि पुडासैनी, सामाजिक सेवा तथा क्षमता विकास समितिको प्रतिवेदन सभापति वडा नम्बर १ का अध्यक्ष मुकुन्द गजुरेल, राजश्व परामर्श समिति सभापति उपमेयर शान्ता थापाको तर्फबाट वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाल, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन सभापति तथा वडा नम्बर ४ का अध्यक्ष विजय श्रेष्ठ ‘धन’, पूर्वाधार विकास समितिको सभापति अनिल थापा, विदेश समितिका सभापति भीमसेन थापाको तर्फबाट मुकुन्द गजुरेल, स्थानीय सेवा तथा सुशासन समितिको प्रतिवेदन सभापति तथा वडा नम्बर ५ का अध्यक्ष शङ्कर पाण्डे, सार्वजनिक जग्गा संरक्षण समितिको प्रतिवेदन वडा नम्बर २ का अध्यक्ष सुरज खड्का, विकास समितिको प्रतिवेदन सभापति सारा पुर्कोटी र आर्थिक विकास समितिका प्रतिवेदन कार्यपालिका सदस्य प्रकाश नेपालीले पेस गरेका हुन् ।

सभामा उठेका सुझाव र प्रश्नलाई नगरप्रमुख र उप प्रमुखले जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०८१ पुष २५ गते, बिहीबार


Scroll to Top

Janata Media