हेटौँडामा दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता- २०८० सुरु

जनता संवाददाता
२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौँ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हेटौँडामा दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता- २०८० सुरु भएको छ ।

प्रतियोगिताको आइतबार हेटौँडा उपमहानगरपालिका ५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो । साथै मुख्यमन्त्री जम्कट्टेलले ओलम्पिक टर्च तीन जना ओलम्पियनलाई हस्तान्तरण गरेका थिए ।

साताव्यापी रुपमा हुने प्रतियोगिताको दोस्रो संस्करणको शुभारम्भमा मार्चपास, आतिसबाजी, साङ्गीतिक कार्यक्रमसँगै विविध सांस्कृतिक प्रदर्शनी गरिएको थियो । पहिलो संस्करणमा आठ विधामा प्रतियोगिता भएकोमा यस पटकको प्रतियोगितामा १३ वटा विधामा प्रतियोगिता हुन्छ ।

प्रदेशका १३ जिल्लाका खेलाडीको सहभागिता रहने प्रतियोगिता उहाँका अनुसार प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, उसु, जुडो, रग्वी, क्रिकेट, व्याडमिण्टन, पौडी र आईटीएफ तेक्वान्दोका खेल हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

उसु र जुडो काठमाडौँमा, पौडी ललितपुरमा, महिला र पुरुष क्रिकेट चितवनमा हुनेभएको छ । प्रदेश राजधानी हेटौँडामा बाँकी खेलहरु हुनेछन् ।

प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य पदकका लागि प्रतिस्पर्धा हुन्छ । प्रतियोगितामा प्रथम हुनेले पाँच हजार, द्वितीय हुनेले चार हजार र तृतीय हुनेले तीन हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार ४२७ जना पुरुष खेलाडीले खेलमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने सदस्य सचिव भण्डारीले बताए ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते, आईतवार


Scroll to Top

Janata Media