किराँत समुदाय आज नयाँ वर्ष मनाउँदै

जनता संवाददाता
२०८१ माघ १ गते, मंगलवार

काठमाडौं । किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।

किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरूले कुसङ ऐले तङबे र राईले ऐले दङ भन्ने गर्छन् । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।

माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरूले किराँत नयाँ वर्ष धूमधाम साथ मनाउने गरेका हुन ।

किराँत नयाँ वर्ष पाँचथर,तेह्रथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यो अवसरमा धान र च्याब्रुङ नाच्नका साथै वनभोज खाने,कन्दमूल खाने,हाक्पारे,ख्याली र पाःलाम आदी पनि गाउने गरिन्छ ।

किराँती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि ऐले तङबे ५०८५ सुरु भएको छ । किराँत सम्वत नेपालमा हाल प्रचलनमा रहेको विक्रम सम्वत भन्दा ३ हजार ४ वर्ष जेठो रहेका इतिहासका जानकार हरिचन्द्र लावती बताउँछन् ।

ऐले तङ्गवे किराँती राजा यलम्वरले नेपालमा शासन सुरु गरे पश्चाच मनाउन थालिएको इतिहास रहेको किराँत इतिहासका जानकार राजेन्द्रप्रसाद जवेगु बताउँछन् ।

उनका अनुसार माघे सङ्क्रान्ति देखि लेकाली भूभागमा पाइने चाँप प्रजातिको फुल फुल्न सुरु हुन्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तीलाई ककफेवा तङनाम भनेर पनि मनाँउछन्।

लिम्बु भाषामा कक भनेको चाँप,फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात् ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो । यो ज्येष्ठ सदस्य अर्थात् अभिभावकले बन तरुल कालो हुने गरी पोलेर परिवारका अन्य सदस्यलाई टिका लगाउँदै आर्सीवाद दिने चलन रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ माघ १ गते, मंगलवार


Scroll to Top

Janata Media