जय ट्रफी कपः आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

जनता संवाददाता
२०८१ माघ ३ गते, बिहीबार

काठमाडौँ । ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

विभागीय डर्बी पुलिसलाई जिताउन स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । अन्तिम दिन जितका लागि एक सय तीन रनको मध्यम लक्ष्य पछ्याएको आर्मी २९।२ ओभरमा ७४ रन जोड्दै अलआउट भएको थियो ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए। कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

आर्मीलाई कमजोर बनाउन बलिङमा पुलिसका सागरले ६ तथा ललितले चार विकेट लिए । प्लेयर अफ दि म्याच बनेका सागरले विकेट लिने क्रममा १४।२ ओभरमा एक मेडनसहित ३५ रन खर्चिए ।

यस्तै ललितले १५ ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ रन खर्चिए। दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो ।

१३२र९ को स्थितीमा तेस्रो दिनको खेल सुरु गरेको पुलिसले सात रन थाप्दै बाँकी एक विकेट गुमाएको थियो । पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन बनाए । बलिङमा आर्मीका शाहब आलम र बसिर अहमदले पाँच पाँच विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३/९ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन एक सय ७० रनमा अल आउट भएको थियो । जसमा आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्यानका संस्थापक जयनरायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीको यस पहिलो संस्करणमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।

राउन्ड रोविन लिगपछि पुलिस र आर्मीले लिग चरणमा शीर्षस्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय विधामा खेलाइएको हो ।

प्रकाशित मिति : २०८१ माघ ३ गते, बिहीबार


Scroll to Top

Janata Media