विश्वकपमा नेपालको पहिलो जित:प्लेअफमा मलेसिया ७ विकेटले पराजित

जनता संवाददाता
२०८१ माघ ११ गते, शुक्रबार

काठमाडौँ । नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित दर्ता गरेको छ। समूह चरणका तीन खेलमा पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई ७ विकेटले हराएको हो।

टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई १६.५ ओभरमा ४५ रन बनाउँदा अल आउट गरेको थियो। सुरुमा ब्याटिङ गरेको मलेसियाका लागि नुरिमन हिदयाहले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान पूजा महतोले ९ रन खर्चिएर चार विकेट लिए भने रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन खर्चिएर तीन विकट हात पारे। नेपालका लागि थप दुई विकेट रिया शर्मा र सिम्रन केसीले लिए।

४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा ४७ रन बनाउँदै सात विकेटको जित निकालेको हो। नेपालको जितका लागि कप्तान पूजा महतोले नटआउट ३२ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे ।

साना प्रविन १, सावित्रा धामी ३ र ज्योत्स्नीका मरासिनीले ९ रन बनाउँदा सिम्रन केसी ४ रनमा नटआउट रए ।नेपालका कप्तान पूजा प्लेयर अफ द म्याच बने । यसअघि समूह चरणको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपालले स्कटल्याण्डसँगको खेल एक विकेटले गुमाएको थियो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग भने नेपाल ८३ रनले पराजित भएको थियो।

प्रकाशित मिति : २०८१ माघ ११ गते, शुक्रबार


Scroll to Top

Janata Media