रकम हिनामिनाको आरोपमा राप्रपा सांसदविरुद्ध पक्राउ पूर्जी

जनता संवाददाता
२०८१ बैशाख १९ गते, बुधबार

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ गर्नका लागि अदालतसमक्ष अनुमति मागेको थियो ।

अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति दिएको नेपाल बार एसोसियसन, नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय नवरपुरले सांसद बस्नेतलाई पक्राउ गर्न आइतबार नै अनुमति मागेको थियो ।

अदालतको आदेशअनुसार जिप्रका नवलपुरले मिसिल पठाएपछि बस्नेतविरुद्ध प्रक्राउ पूर्जी जारी भएको बार अध्यक्ष डुम्रेले बताए । जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तिय विश्लेषक तथा छानबीनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानविन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको बताए ।

पक्राउ अनुमतिबारे सूचना पाएपछि सांसद बस्नेत फरार भएको प्रहरीले जनाएको छ । बस्नेतले चितवनको सनराइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्थाबाट एक करोडभन्दा बढी आफ्ना ज्वाई नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गरेको प्रहरी स्रोतको दावी छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा सनराईज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमालसहित छिपछिपेका व्यवस्थापक योगेन्द्र पाण्डे, सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलगायत ७ जना एक महिनादेखि नवलपुर प्रहरीको नियन्त्रणमा छन् ।

योगेन्द्र पाण्डे २०७२ सालदेखि २०७९ सम्म ७ वर्ष सहकारी ऐनविपरित छिपछिपेको अध्यक्ष र व्यवस्थापक रहेको पाइएको छ । सहकारी ऐन अनुसार एउटै व्यक्ति अध्यक्ष र व्यवस्थापक हुन पाइदैन । पक्राउ पर्नेमा अधिकांंश बर्दियाकै छन् । राप्रपाले बर्दियाका बस्नेतलाई प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते, बुधबार


Scroll to Top

Janata Media