नेप्सेमा सामान्य अङ्कको गिरावट

जनता संवाददाता
२०८१ माघ २३ गते, बुधबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय नौ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९५ करोड ८० लाख सात हजारको कारोबार भएको छ ।

आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल रिइन्स्योरेन्क कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ३३ करोड ७६ लाख ३९ हजारको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको आठ लाख नौ हजार एक सय ९० कित्ता शेयर किनबेच भएको छ । आजको कारोबार पछि कूल बजार पुँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख बराबर पुगेको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते, बुधबार


Scroll to Top

Janata Media