गण्डकीमा तनहुँका निरीक्षक सुवेदी बने उत्कृष्ट प्रहरी

जनता संवाददाता
२०८१ चैत्र ४ गते, सोमबार

गण्डकी । गण्डकी प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा हौसला प्रदान गर्ने उद्देश्यले लागू गरिएको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि ( २०८१’ अनुसार फागुन महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ।

उक्त कार्यविधिअनुसार, मातहतका सम्पूर्ण कार्यालयहरूबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरूमध्येबाट इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

संगठनको नीति निर्देशनअनुसार उनलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गर्नुका साथै लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारको पुनर्निर्माण र संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको हो।

सुवेदीले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुर्‍याएका कारण उनलाई ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि ( २०८१’ बमोजिम फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार


Scroll to Top

Janata Media