हुम्लामा सुत्केरी व्यथा लागेकी महिलाको हवाई उद्धार

जनता संवाददाता
२०८१ माघ २५ गते, शुक्रबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित महतारा गाउँकी असली महतारालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

३१ वर्षकी महतारा सुत्केरी हुने समय नपुग्दै ८ महिनाको अवधीमा हिजो बिहानदेखि उच्च रत्तश्राप भएपछि आज माघ २४ गते दिउसो कर्णाली प्रदेश राजधानी सुर्खेतमा उद्धार गरिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराले जानकारी दिए ।

महतारालाई माघ २३ गते बिहान ५ बजेबाटै सुत्केरी ब्याथा लागेपनि सहज रुपमा बच्चा जन्माउन नसकेर निरन्तर रगत धेरै बगिरहेकाले अदानचुली गाउँपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालय सिमकोटको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको अदानचुलीको स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले जानकारी दिए ।

अदानचुलीको गल्फागाडमा बस्दै आएका अदानचुली गाउँपालिका वडा नम्बर २ का लोकेन्द्र महताराकी श्रीमती असली महतारालाई बुधबार बिहानै देखि ब्याथा लागेको बताइएको छ ।

स्वास्थ्य चौकीलाई हिजो राती ९ बजे मात्र जानकारी आएको र जानकारी आएलगत्तै श्रीनगरबाट गाडि मार्फत श्रीनगर स्वास्थ्य चौकीमा ल्याई रातभर उपचार गर्दा पनि सम्भब नभएपछि अन्यत्र रिफर गरी सम्बन्धीत निकायलाई जानकारी गराएपछि बिहिबार हवाई उद्धार गरिएको हो ।

प्रकाशित मिति : २०८१ माघ २५ गते, शुक्रबार


Scroll to Top

Janata Media