वडाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा, शवको मुचुल्का उठाउन पनि समस्या

जनता संवाददाता
२०८१ फाल्गुन १८ गते, आईतवार

काठमाडौं । नवलपुरको कावासोती नगरपालिका वडा नं. १० का जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन्। चार दिन लामो विदा पारेर फागुन १३ गते भ्रमण गएको टोली ६ दिन बितिसक्दा पनि नफर्किदा सेवाग्राही मर्कामा परेका छन्।

वडा कार्यालयमा अहिले कुनै पनि जनप्रतिनिधि र कर्मचारी छैनन्। स्थानीय निरु गौतमकमा अनुसार हुलाकका कर्मचारीले कार्यालयको ढोका खोलिदिने काम गरेका छन् भने सेवाग्राहीको कुनै पनि काम हुन सकेको छैन।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले ७ दिनको भ्रमणका लागि वडा कार्यालयको जनप्रतिनिधि र कर्मचारी पश्चिम नेपाल भ्रमण गएको जानकारी दिए । पौडेलका अनुसार भ्रमण गएको टोली १९ गते सोमबार मात्र फर्कने छ।

पौडेलले भन्नुभयो, ‘‘कार्यालय नै ठप्प पारेर भ्रमण जाने त होइन। तर जनप्रतिनिधिहरुले गरेको काममा हामीले रोक्न मिलेन।’’ कावासोती नगरपालिकाका सूचना अधिकारी मुक्तिप्रसाद बस्यालले कार्यालयको काम नरोकिने गरी कम्तिमा एक जना जनप्रतिनिधि र एक जना कर्मचारी कार्यालयमा राखेर मात्र भ्रमण जानु पर्ने भए पनि केही वडाहरुले त्यसको पालना नगरेको बताए ।

यसैबीच वडामा जनप्रतिनिधि नभए पछि शवको मुचुल्का उठाउन समेत समस्या भएको छ। स्थानीय एक व्यक्तिले आत्महत्या गरेपछि उक्त शवको मुचुल्कामा हस्ताक्षर गर्ने जनप्रतिनिधि नहुँदा नगरप्रमुख विष्णुप्रसाद भुसाल पुगेर मुचुल्कामा हस्ताक्षर गरेका छन् ।

‘‘स्थानीयले मुचुल्का उठाउने वडामा कोही भएन भनेर फोन गर्नुभयो, मैले गएर मुचुल्का गरिदिए, नगरप्रमुख भुसालले भने, ‘‘वडा नै बन्द गरेर त नजानु पर्ने हो, लोकतन्त्र भनेको यस्तै मनपरि तन्त्र होला।’’

यस बारेमा प्रतिकृया लिन खोज्दा सबै जनप्रतिनिधि र कर्मचारीले मोवाइल स्वीच अफ गरेको पाइयो। स्थानीयले भने वडाका जनप्रतिनिधि र कर्मचारीले पश्चिम नेपाल भ्रमणको बाहनामा भारतको पर्यटकीय क्षेत्र घुम्न गएको दावी गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते, आईतवार


Scroll to Top

Janata Media