तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार

जनता संवाददाता
२०८१ चैत्र २२ गते, शुक्रबार

तनहुँ । तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरले जानकारी दिए ।

उनका अनुसार बस दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये दुई जना गम्भीर घाइते र दुई जनाको अवस्था मध्यम रहेको छ । अन्य ११ जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । बसमा करिब ४० जना सवार रहेको इलाका प्रहरी कार्यालय भानुका प्रमुख कुँवरले जानकारी दिए ।

चितवनको नारायणगढबाट लम्जुङको बेँसीसहर तर्फ जाँदै गरेको ग. १ ख. ६४९८ नम्बरको बस शुक्रबार दिउँसो ४ः२५ बजेको समयमा दुर्घटना भएको प्रमुख कुँवरले बताए । बसका चालक भने फरार रहेका छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूले उद्दार गरेका छन् । घाइतेहरूलाई डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा पठाइएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते, शुक्रबार


Scroll to Top

Janata Media