प्लानिङ ब्वाइजको अपराजित यात्रा जारी

जनता संवाददाता
२०८१ चैत्र २६ गते, मंगलवार

काठमाडौँ । प्लानिङ ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा प्लानिङ ब्वाइजले सरस्वती युथ क्लबलाई ३–० गोलले हरायो । पाँचौँ जित निकाल्ने क्रममा प्लानिङले सरस्वतीविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो ।

प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोलले दोस्रो मिनेटमै गोल गरे । यस्तै सरोज कार्कीले ७३औँ र फागुराम थारूले ८२औँ मिनेटमा गोल गरे । सरस्वतीको गोल फर्काउने प्रयास सफल बन्न सकेन ।

जितसँगै शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजले पाँच खेलबाट १५ अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको सरस्वतीको समान खेलबाट ६ अङ्क छ ।

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र २६ गते, मंगलवार


Scroll to Top

Janata Media