तपेन्द्र ऐडि, मुगु । कर्णाली प्रदेशकै अति विकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी खत्याडी क्षेत्रमा बिजुली बत्ती बाल्ने जनताको सपना अझै अधुरै छ । १८ महिनामा सम्पन्न गर्नुपर्ने बिरा बगर जलविद्युत् आयोजना स्थापनाको १० वर्ष पूरा हुँदा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । खत्याड गाउँपालिकामा हालसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । ‘हामी खत्याडवासीले कहिले बिजुली देख्न पाउने ? बिरा बगर आयोजना वर्षौँ भइसक्यो, अझै पूरा भएको छैन । हाम्रा सपना अधुरै हुने भए’, खत्याड-३ रोलका स्थानीय गोकर्णबहादुर शाहीले गुनासो गरे ।
बिजुली नहुँदा गाउँमा सानातिना उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको छ । विद्युत् अभावकै कारण खत्याड भेगमा सञ्चार सेवासमेत प्रभावित छ, कतिपय बस्तीहरू सञ्चार पहुँचबाहिर नै रहेको स्थानीय कविराज कार्कीले जानकारी गराए । खत्याडमा इमेल, इन्टरनेट परको कुरा भयो, चाहेको ठाउँबाट फोन गर्नसमेत नसकिने अवस्था रहेको कार्कीको भनाइ छ । यो समस्या केवल शाही र कार्कीको मात्र नभएर खत्याडीवासी सबैको साझा पीडा हो ।
खत्याडी भेगका एकदेखि ११ वडाका करिब पाँच दर्जन बस्तीका चार हजार दुई सय घरधुरीलाई लक्षित गरी बिरा बगर जलविद्युत् आयोजना स्थापना गरिएको थियो । २०६९ सालमा परियोजनाको डिपिआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादनतर्फ र २०७५ भदौ ६ गते वितरणतर्फ बोलपत्र आहृवान गरिएको थियो ।
२०७५ मंसिर १५ मा उत्पादनतर्फ मेगा फेवा जेभी र प्रसारणतर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिने ठेक्का सम्झौता गरिएको खत्याड गाउँपालिकाले जनाएको छ । तर, कोभिड-१९ महामारी र २०७९ असोजमा परेको भीषण वर्षाका कारण आयोजनाका संरचनाहरू पहिरोले बगाएपछि पुनर्निर्माण गर्नुपर्ने भएकाले ढिलाइ भएको गाउँपालिका अध्यक्ष अजबहादुर शाही बताउँछन् । अध्यक्ष शाहीका अनुसार विद्युत्को मुहानको कामबाहेक अरू सबै काम सकिएकाले अबको दुई महिनामा २०८१ जेठसम्म बिरा बगर जलविद्युत् आयोजनाको सबै काम सम्पन्न हुने र खत्याडी जनताको वर्षौंदेखिको बिजुली बत्ती बाल्ने सपना पूरा हुनेछ ।
आयोजनाको कुल लागत २७ करोड ५५ लाख आठ हजार २५४ रुपैयाँ रहेको छ भने यसको कुल विद्युत् उत्पादन क्षमता ५०० किलोवाट बताइएको छ । यस आयोजनाका लागि एसियन डेभलपमेन्ट बैंकको अनुदान, माछापुच्छ्रे बैंकको १० प्रतिशत ऋण तथा सहकारीको १० प्रतिशत आन्तरिक व्यवस्थापन गरी कुल लागत जुटाइएको छ । विकास र समृद्धिको मुख्य आधार बिजुली भएकाले आयोजना छिटो सम्पन्न भई खत्याडीवासीले दशकौँ देखिको सपनालाई साकार पार्ने अपेक्षा गरिएको छ







