एकीकृत समाजवादीको हुम्ला अधिवेशन वैशाख १५ र १६ गते हुने

जनता संवाददाता
२०८२ बैशाख २ गते, मंगलवार

हुम्ला । नेकपा एकीकृत समाजवादीको दसौँ हुम्ला जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ । पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेर सो जानकारी गरेको हो ।

पार्टीको दसौँ जिल्ला अधिवेशन आगामी वैशाख १५ र १६ गते अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा आयोजना गर्न लागिएको उक्त पार्टीका जिल्ला सचिव कमल छत्यालले बताए । यसअघि सदरमुकाम सिमकोटमा गर्ने भनिएको भए पनि सडक यातायात सहज नभएको कारण पछि सचिवालय बैठकले श्रीनगरमा आयोजना गर्ने निर्णय भएको थियो ।

त्यसका लागि ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भई सकेका छन् । भने अव सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पार्टीको जिल्ला अधिवेशनपछि पालिका अधिवेशन हुनेछन् । जिल्ला अधिवेशनका लागि १८८ जना प्रतिनिधिहरूले सहभागिता जनाउनेछन् । पाँच जना सदस्य बराबर एक जना अधिवेशन प्रतिनिधि सहभागिता गर्न पाउने एकीकृत समाजवादीको विधानमा व्यवस्था रहेको छ ।

उक्त सम्मेलनमा पार्टीका पोलिट ब्युरो सदस्य हस्तबहादुर शाही, केन्द्रीय सदस्य द्धय शिवराज शर्मा, प्रेमकला शाही, प्रदेश सचिवालय समस्या एवं सचिव छत्यालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते, मंगलवार


Scroll to Top

Janata Media