काठमाडौं । डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
आइतबार मध्यान्ह पौने १२ बजे तनहुँको डुम्रेबाट लमजुङतर्फ आइरहेको बा २ ख ४०२२ नम्बरको हाइस माइक्रोेबसले बेसीसहरबाट गइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोमा सवार मनाङको नासों गाउँपालिका ताचै स्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते घलेको सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार स्कुटर चालक अन्दाजी ४० बर्षीय सुरेश श्रेष्ठ गम्भिर घाइते भएका छन्। उहनलाई भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ।
घाइते ७ जनाको भोटेवडार अस्पतालमा उपचार भइरहेको र तीन जनालाई चितवन लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिए।
माइक्रोको चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। माइक्रोमा १७ जना सवार रहेका थिए। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अन्य थप विवरण आउन बाँकी छ।







