
बुटवल । भारतको जम्मू–काश्मिरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवल–११, कालिकानगरका सुदीप न्यौपानेको शव बुधबार राति बुटवल ल्याइएको छ।
सुदीप आमा, बहिनी र ज्वाईं सहित घुम्न कश्मीर गएका थिए । मंगलबार आतंककारीहरूको आक्रमणमा परेर उनको मृत्यु भएको हो। घटनापछि उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउ ल्याइएको थियो। त्यहाँबाट नेपाल भारतको सीमा सुनौली हुँदै बुटवलसम्म शव ल्याइएको हो।
लखनउदेखि सुनौलीसम्म भारतको उत्तरप्रदेशका एक जिल्ला अधिकारी (डीएम) ले शवसहितका आफन्तहरूलाई सुरक्षितरूपमा ल्याउन साथ दिएका थिए। शव लिन सुदीपका काका तथा बुटवल–१४ का वडाध्यक्ष दधिराम न्यौपानेसहितका परिवारका सदस्यहरू सुनौली पुगेका थिए ।
शव ल्याउनका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख रन्जितसिंह राठौर सहितको सुरक्षा टोली पनि खटिएको थियो। प्रहरी प्रमुख राठौरका अनुसार शव सुनौलीदेखि बुटवलसम्म सुरक्षा व्यवस्थासहित ल्याइएको हो।
हाल सुदीपको घर बुटवल कालिकानगरस्थित मनकामनापथ शोकाकुल छ। त्याहा स्थानीयबासी र आफन्तहरूको बाक्लो उपस्थिति रहेको छ।
सुदीपको अन्त्येष्टि आजै त्रिवेणी घाटमा गरिने वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए।