काठमाडौँ । हुम्लाका आठवटा डिपो र बिक्री केन्द्रमा दशैँका लागि खाद्यान्न बिक्री नगरिने भएको छ । चालू आर्थिक वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न स्थल मार्गबाट ढुवानी हुन नसकेपछि बिक्री बन्द भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्लाका नासु नवीन आचार्यले हुम्लाको शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठवटा डिपो तथा बिक्री केन्द्रबाट यसपालिको दशैँमा खाद्यान्न बिक्री वितरण नगरिएको बताउनुभयो ।
उहाँले खाद्य व्यवस्था कम्पनीले सबै डिपो तथा बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीका लागि भएको आशयपत्र निकाल्न ढिलो भएका कारण ढुवानीकर्ता छनोटकै क्रममा रहेको जानकारी दिनुभयो ।शाखाका अनुसार नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि सिमकोटबाट पाँच÷पाँच सय क्विन्टल चामल व्यवस्था गरिएको छ ।
खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि पैदल मार्गबाट सुर्खेत र नेपालगञ्जबाट पाँच-पाँच सय गरी एक हजार क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ । अन्य बिक्री केन्द्र चङ्खेलीको देउलीका लागि सुर्खेतबाट पाँच सय क्विन्टल, सर्केगार्ड गाउँपालिकाको तुम्च बालुकुना बिक्री केन्द्रका लागि सुर्खेतबाट एक हजार र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि सुर्खेतबाटै एक हजार क्विन्टल कोटा खाद्यान्न व्यवस्था गरिएको छ ।
त्यसैगरी सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोका लागि मुगुको गमगढी र सुर्खेतबाट एक(एक हजार गरी दुई हजार क्विन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि सुर्खेतबाट एक हजार, धनगढीबाट एक हजार र बाजुराको कोल्टीबाट पाँच सय गरी दुई हजार पाँच सय क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ ।
सिमकोट शाखाका लागि पनि चालू आर्थिक वर्षका लागि १० हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा छ हजार सुर्खेत र चार हजार क्विन्टल नेपालगञ्जदेखि हवाई मार्गबाट व्यवस्था गरिएको छ भने स्थलमार्गबाट पनि शाखाकै लागि सुर्खेत, नेपालगञ्ज, धनगढी र राजापुर गरी चार स्थानबाट एक(एक हजार गरी चार हजार क्विन्टल खाद्यान्न व्यवस्था गरेको छ । सो खाद्यान्नसमेत ढुवानी हुन सकेको छैन ।