एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन

जनता संवाददाता
२०८२ बैशाख २३ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

एमालेको पोलिटब्युरो सदस्य रहेका उनले पत्रकारिता एवम् साहित्य विधामा निरन्तर कलम चलाउँदै आउएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।

नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते, मंगलवार