भारतको ड्रोन हमलामा पाकिस्तानमा १ जनाको मृत्यु, ५ जना घाइते

जनता संवाददाता
२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौँ । बिहीबार बिहानदेखि पाकिस्तानका धेरै स्थानलाई लक्षित गरी भारतले गरेको शृङ्खलाबद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ ।

चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव सुरु भएदेखि इलेकट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ ।

यसअघि मिडिया ब्रिफिङमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पूर्वी पन्जाब प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो । जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो ।

एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।

सिन्ह्वाको सहयोगमा

प्रकाशित मिति : २०८२ बैशाख २६ गते, शुक्रबार


Scroll to Top

Janata Media