काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघको दसौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । शुक्रबारबाट गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु हुने महाधिवेशनको सँघारमा बुधबार मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल, पूर्वअध्यक्षहरू र अध्यक्ष क्षितिज थेबेसहित पदाधिकारीलाई राखेर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
ओलीको निर्देशनअनुसार मोर्चा फाँट प्रमुख ढकालसहित पूर्वअध्यक्षहरूको टिमले सर्वसम्मत नेतृत्व चयनको प्रस्तावका लागि आन्तरिक गृहकार्य सुरु गरेको छ । चुनाव नहुने मनस्थितिसहित अध्यक्षसहित पदाधिकारी, केन्द्रीय कमिटी र विभिन्न पदका आकांक्षी पोखरा पुग्न थालिसकेका छन् । संघमा हालका उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी र प्रकाश गौतम तथा महासचिव सुमन पुरी अध्यक्षका आकांक्षी छन् । तर, ओलीको निर्देशनपछि वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै दोहोर्याउने जोडका साथ मोर्चा फाँट प्रमुख र पूर्वअध्यक्षहरूले गृहकार्य सुरु गरेका छन् । थेबेले छाडेको अवस्थामा भने नयाँ अनुहारका रूपमा उपाध्यक्ष गुरुङ र केसीमध्येबाट चयन गर्ने गरी गृहकार्य भइरहेको छ ।
सर्वसम्मत हुँदा पद पाइएन भन्दैमा उत्तेजित र अराजक नबन्न, भडकावमा नपर्न सचेत गराउँदै ओलीले भूगोलमा फर्किएर पार्टीको जिम्मेवारीमा लाग्न निर्देशन दिए । ‘युवा संघमा बस्नुभन्दा अहिल्यै पार्टीमा गएर जरैदेखि बलियो बनाउन लाग्नुभो भने तपाईंहरू छिटो नेता बन्न सक्नुहुन्छ,’ ओलीको निर्देशन थियो, ‘पार्टी चौतर्फी घेराबन्दीमा रहेका वेला अनावश्यक चुनावी तामझामले नेता–कार्यकर्तालाई विभाजित बनाउँछ, त्यसैले सर्वसम्मत नेतृत्व चयन गर्ने गरी महाधिवेशन सम्पन्न गर्ने काममा लाग्नुस् ।’
अहिलेसम्म एमालेको १० वटा जनवर्गीय संगठनको महाधिवेशन सम्पन्न भएकोमा ती सबैमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । ओलीको पछिल्लो निर्देशनसँगै युवा संघमा पनि त्यसैगरी नेतृत्व चयनको सम्भावना बढेको छ । महाधिवेशन ९ देखि ११ जेठसम्म सम्पन्न हुँदै छ । अध्यक्षबाहेक युवा संघ महाधिवेशनमा महाचिव पदमा हालका सचिवहरू क्रमशः निरोज पौडेल, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाईं, खेम शर्मा, राजु थापा आकांक्षी छन् ।







