पूर्वी मकवानपुरको फापरबारीमा बेलिब्रिज

जनता संवाददाता
२०८२ असार ११ गते, बुधबार

काठमाडौं । पूर्वी मकवानपुरका फापरबारीस्थित चौराहाखोलामा बेलिब्रिज जडान कार्य धमाधम भइरहेको छ। बागमती गाउँपालिका ६ र ८ लाई जोड्ने गरी बागमती प्रदेश सरकारको लगानीमा बेलिब्रिज जडान कार्य भइरहेको हो ।

लामो समयदेखि अधुरो रहेको पुल निर्माणको योजनालाई पूर्णता दिन चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै बेलिब्रिज जडान कार्यले तीव्रता पाएको छ ।

बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, मकवानपुरमार्फत् भइरहेको उक्त बेलिब्रिज जडान कार्य मूल्य अभिवृद्धि करसहित तीन करोड ८५ लाख २५ हजार ७९५ रुपियाँको लागतमा एक वर्षभित्रमा सम्पन्न गर्ने गरी २०८१ कात्तिक १ गते निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

पूर्वाधार विकास कार्यालय, मकवानपुरका प्रमुख सुजन भण्डारी अहिले भइरहेको काम अनुसार निर्माण सम्पन्न हुने मितिभन्दा अगावै आगामी साउनमा नै बेलिब्रिज जडान कार्य पूरा भएर सवारीका साधन सञ्चालनमा आउने बताउँछन् ।

उहाँका अनुसार ८० मिटर लम्बाइको उक्त बेलिब्रिजको भारवहन क्षमता ४० टन रहेको छ।उक्त स्थानमा पुल निर्माण गर्न प्रदेश सरकारले आव २०७८र०७९ मासमपुरक अनुदान अन्तर्गत बजेट विनियोजन भएपछि बागमती गाउँपालिकामार्फत पुल निर्माण सुरु गरिएकको थियो।

पालिकामार्फत् पुल निर्माण सुरु गरेपनि पर्याप्त बजेटको अभावमा पुल निर्माण अधुरो रहेको बागमती गाउँपालिकाको पूर्वाधार तथा वातावरण शाखाका असिस्टेण्ट सवइन्जिनियर अशोक महतोले जानकारी दिए ।

प्रदेश सरकारले आव २०७८/०७९ मा करिब ७७ लाख रुपियाँ पुल निर्माणका लागि बजेट विनियोजन गरेकोमा उक्त बजेटबाट पुलको स्ट्रक्चर फाउण्डेशन निर्माणपछि पुल निर्माण कार्य अधुरो रहेको थियो।पुल निर्माणसँगै बागमती गाउँपालिकाको वडा नम्बर ६, ८ र ९ का करिब १० हजार बासिन्दा लाभान्वित हुने छन्।

नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाका सभापति शंकर पराजुलीले बेलिब्रिज निर्माण पनि वर्षायाममा स्थानीयलाई आवागमनमा सहज हुने भन्दै वर्षाको समयमा स्थानीय बासिन्दा विपद्को जोखिममा पर्दै आएको बताए ।

प्रकाशित मिति : २०८२ असार ११ गते, बुधबार


Scroll to Top

Janata Media