चट्याङ पर्दा एकको मृत्यु, चार घाइते

जनता संवाददाता
२०८२ असार २० गते, शुक्रबार

काठमाडौं । रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो ३ बजे भेरीगंगा नगरपालिका –८ कुइरेमा रोपाइँ गरिरहेको समयमा चट्याङ पर्दा सोही ठाउँका डिलबहादुर शाहीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका शाहीलाई उपचारका लागि मेहेलकुना अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसी मोहनजंग बुढथापाले जानकारी दिए ।

यस्तै, चट्याङमा परेर चार जना घाइते भएका छन् । भेरीगंगा –८ कुइरेका १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीय सुनिता गिरी घाइते भएका छन् । उनको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २० गते, शुक्रबार


Scroll to Top

Janata Media