हिमानी कोषले सुरु गर्‍यो ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान

जनता संवाददाता
२०८२ श्रावण १७ गते, शनिबार

काठमाडौँ । हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक महत्वाकांक्षी अभियान सुरु गरेको छ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ सानेपास्थित इन्टरनेशनल क्लबमा शनिबारबाट सुरु भएको यो अभियानको उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहेको छ।

कोषका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु हो।

विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम गर्न चाहने नव-उद्यमीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको कोषले जनाएको छ।

अभियानको सबैभन्दा महत्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ (लघु-बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य हो। यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक पुँजी उपलब्ध गराइनेछ, जसले उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास कोषको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी(व्यवसायीहरूले युवाहरूसँग आफ्ना अनुभव साट्दैछन्। साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिएको छ।

प्रकाशित मिति : २०८२ श्रावण १७ गते, शनिबार


Scroll to Top

Janata Media