टप टी–२० सिरिजः नेपालको पहिलो जित, नन्दनले एक्लै लिए पाँच विकेट

जनता संवाददाता
२०८२ भाद्र ३ गते, मंगलवार

काठमाडौँ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६।१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक बने । तीन ओभर बलिङ गरेका नन्दनले १७ रन दिएर पाँच विकेट हात पारे ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउँदा आशिफ शेखले २९ रन जोडे। कुशल भुर्तेलले २७ रन बनाउँदा नेपालका लागि लोकेश बमले नटआउट विष्फोटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोडे। भीम सार्कीले १८ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो।

नेपाललाई सस्तैमा रोक्न हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुईदुई विकेट लिए।

१८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सका लागि ब्राडली होपले ३१, चार्ली वाकिम २८ र ज्याक कर्टेन २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।

होबार्टविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि नन्दन यादवले पाँच विकेट लिँदा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एकएक विकेट हात पारे।

नेपालले यसअघि तीन खेलमा लगातार पराजयको सामना गरेको थियो पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकर्रसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। यो जितसँगै सिरिजमा नेपालले दुई अंक जोडेको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते, मंगलवार


Scroll to Top

Janata Media