पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

जनता संवाददाता
२०८२ भाद्र १९ गते, बिहीबार

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ। ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको थियो। त्यसमध्येका विवेक तामाङको अवस्था गम्भीर छ। उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।”

आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते, बिहीबार


Scroll to Top

Janata Media