केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला

जनता संवाददाता
२०८२ भाद्र २३ गते, सोमबार

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेन सर्वसम्मतले पारित गरेको छ । एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा हटेसँगै अध्यक्ष ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।

प्रतिवेदनमाथि छलफल भएर समूहगत रूपमा प्रतिवेदन पेस भएका छन् । एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं समूह नेता कृष्णप्रसाद जैसीले अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष सुनाएको उल्लेख गरे । कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजङ्ग शाहले अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय रहेको उल्लेख गरे । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरेर पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरूले प्रस्ट दिशा निर्देश गरेको विश्लेषण गरे । बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० बर्से उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको बताए । मधेश प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने उल्लेख गरे । कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस गर्नुभएको विधान संशोधनमा ७० बर्से उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरिएको उल्लेख गरे ।

‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनुपर्ने’ सुझाव आफूहरूले गरेको उनले उल्लेख गरे । केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसङ्गठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते, सोमबार


Scroll to Top

Janata Media