काठमाडौंको भीमसेन स्थानमा भीषण आगलागी

जनता संवाददाता
२०८२ आश्विन १३ गते, सोमबार

काठमाडौं  । काठमाडौं महानगरपालिका भीमसेनस्थानमा भीषण आगलागी भएको छ । सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चारवटा घर जलेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणका अनुसार, आगलागी भएको स्थानमा नेपाल प्रहरीको समन्वयमा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ ।

प्रहरीका अनुसार, घटनामा मानवीय क्षति भएको जानकारी आएको छैन र के कति घरमा कति नोक्सान भयो भन्ने विवरण पनि प्राप्त भएको छैन । आगलागीको क्षेउमा मन्दिर पनि रहेको छ । अहिले सबैको ध्यान आगो नियन्त्रणमै केन्द्रित छ ।

राससका अनुसार, काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको हो ।

नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए ।

उहाँले भन्नुभयो, “बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।”

प्रकाशित मिति : २०८२ आश्विन १३ गते, सोमबार